काठमाडौँ । उच्च अदालत पोखराले नायक पल शाहको मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने भएको छ ।
पलको फैसला दोहोर्याउन सर्वोच्च अदालतले निस्सा प्रदान गरेपछि उच्च अदालत पोखराले गरेको फैसला कार्यान्वयन नहुने भएको हो ।
सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले विगतको फैसला लागु नर्गन आदेश जारी गरेको हो । सरकारी वकिलले फैसला चित्त नबुझेको भन्दै पलको मुद्दामा निस्सा मागेका थिए ।
उच्च अदालत पोखराले अब सुनुवाइ दोहोर्याउँदै पुनः फैसला गर्नु पर्नेछ ।
उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको थियो।
उक्त फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्याएर हेरि पाउँ भन्दै निवेदन दिएको थियो।
उक्त निवेदनमा मंसिर २२ गते सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमा र हरि फुयाँलको इजलासले उच्च अदालतको फैसला दोहोर्याएर हेर्न अनुमति दिएको हो।
यसमा पीडित नावालक रहेको देखिएकोले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादी बीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स.ज.११ मा गरेको स्वीकारोक्ती समेतका प्रमाणको समुचित मूल्यांकन नगरी भएको उच्च अदालत पोखराको फैसलामा प्रमाण ऐन तथा मुलुकी अपराध संहिताको व्याख्यात्मक त्रुटी र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकुल भएकाले प्रस्तुत मुद्दा दोहोर्याइ हेर्ने अनुमति प्रदान गरिएको छ,’ सर्वोच्च अदालतको आदेशमा उल्लेख छ।