८ पुष २०८१, सोमबार

चोभार सुक्खा बन्दरगाहमा चहलपहल बढ्न थालेपछि व्यापारी उत्साहित, नेपाललाई हुँदैछ यस्तो व्यापारिक फाइदा


राजधानीको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि केही चहलपहल देखिन थालेको छ । हालै आयात गरिएका दुई सयवटा कार भन्सार जाँचपासको प्रतीक्षामा छन् ।

सवारीसाधन व्यवसायीको छाता संस्था नाडासँगको समझदारीपछि नयाँ सवारीसाधनको भन्सार जाँचपास चोभार बन्दरगाहबाटै गर्न थालिएको छ । यसले गर्दा पनि यहाँ केही चहलपहल बढेको हो । समुद्रसँग सम्पर्क नभएको हाम्रो देशमा यसअघि बनेका १४ वटा सुक्खा बन्दरगाहमध्ये चोभार बन्दगाह सबैभन्दा कान्छो, अत्याधुनिक र सुविधायुक्त छ ।

प्रायः सबै बन्दरगाह भारत वा चीनको सीमामा बनेका र अध्यागमनसहितका भए पनि यो भने देशको प्रमुख बजार नजिक र विशुद्ध मालसामान आयात निर्यातसँग मात्र सम्बन्धित छ । यतिमात्र नभई बन्दरगाहको एक भागलाई व्यवसायीले आफ्ना सामान भण्डारण गरेर राख्न सक्नेगरी आन्तरिक गोदामका रूपमा सञ्चालन गरिएको छ ।

आयात–निर्यातका लागि अत्यावश्यक मानिएका ‘लोड–अनलोड’ गर्ने यन्त्र, तिनलाई राख्ने गोदाम र र्याक व्यवस्था गरेर यसअघि भन्सारमा सामानको सुरक्षा सम्बन्धमा उठ्ने गरेका गुनासोलाई सम्बोधन गर्न खोजिएको छ । साथै सिसिटिभी क्यामेरा, सुरक्षाकर्मी तथा कन्टेनरको व्यवस्थापन आधुनिक तवरले गरिएको छ ।

सामानको भन्सार जाँचपास प्रक्रियाका लागि सबै संयन्त्रका साथै बैंक सुविधा पनि यहीँ उपलब्ध छ । विगतमा हिमाल सिमेन्ट कारखाना रहेको सुक्खा बन्दरगाहमा पाँच सयवटा कन्टेनर राख्न सकिन्छ । द्रुतमार्गको प्रतीक्षा बन्दरगाहका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा चलाउने हो भने देशमा भित्रिएका सामान वा निर्यात गरिने सामान अन्तर्राष्ट्रिय सीमाबाट बन्दरगाहसम्म सोझै आउने स्थिति तयार हुनुपर्छ ।

ताजा समाचार