काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बोर्ड हराएको सूचना जारी गरेका छन् ।
रिङ रोडका बासिन्दाहरू धूलोले प्रताडित रहेको भन्दै उनले २०१५ मै सकिनुपर्ने चक्रपथ बिस्तारको काम अहिलेसम्म शुरू पनि नभएको भन्दै सरकारको आलोचनासमेत गरेका छन् ।
चक्रपथ सुधार आयोजनाको दोस्रो फेज अन्तर्गत कलङ्कीदेखि महाराजगंजसम्म सकिनुपर्ने काम ९ वर्षसम्म पनि नसकिएको भन्दै काठमाडौँ महानगरपालिकाले बोर्ड राखेको थियो ।
ठेकेदार कम्पनीले उक्त बोर्ड गायब गरेपछि बालेन रुष्ट भएर बोर्ड हराएको सूचना नै जारी गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् –
२०१५ मा सक्नु पर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन । छेउछाउका बासिन्दा, रिंगरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छ । स्थानीयले बोले, संघीय सांसदहरू समेतले पटक पटक आवाज उठाए तर कसैको सुनिएको थिएन । कसैको दुख हेरिएको थिएन ।
काठमाडौँ महानगरपालिका भित्रको भएर हामीले पनि पटक पटक ध्यानाकर्षण गराउने र आफ्नो कार्यक्षेत्रभित्र पर्ने त्योसम्बन्धित कामहरू गरेर सहयोग गर्ने गरेका नै हौँ । तर निर्माण कार्य शंखेकिराको गतिमा रह्यो । त्यहि जानकारी दिन बोर्ड राखेका थियौँ ।
त्यत्रो आवाज नसुन्ने र त्यत्रो दुख नदेख्ने निर्माणकर्ताहरूले ति १० फिट लामो र ५ फिट चौडा भएका बोर्ड चै देखेछन् । समय सकिएको ९ बर्षपछि पनि काम नसक्ने संस्थाले ‘कथित अल्टिमेटमको समय’ सकिने बित्तिकै बोर्ड निकालेर फ्यालेछन् । अनि आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कुटनैतिक नोट लेखेछ्न ।
यहि नजर बर्षौँदेखि अलपत्र पारेर दुख थपेका र बजेट सकेका आयोजनामा पनि जाउन् । समय सकिने बित्तिकै काम गर्ने जाँगर त्यता पनि चलोस् ।