२ पुष २०८१, मंगलवार

एमाले बैठक: नेताहरुको अनैतिक तथा भ्रष्ट आचरण र अनुशासनहीन क्रियाकलाप नियन्त्रण गर्नुपर्नेमा जोड


नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुरमा जारी प्रतिनिधि परिषद् बैठकमा नेता तथा कार्यकर्ताको अनैतिक तथा भ्रष्ट आचरण र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड दिइएको छ ।

सो पार्टीक महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नु भएको पार्टीको साङ्गठनिक प्रतिवेदनमा पार्टीका नेता तथा कार्यकता कसैका बारेमा पनि नैतिक प्रश्न गम्भीर आशङ्का पैदा भएमा सम्बन्धित तहको पार्टीले आवश्यक छानविन गरी कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ । “एमालेको विशेषता भनेको यसका नेता र कार्यकताहरु सरल, नैतिकवान् चरित्रवान् र जनपक्षीय हुनु हो । यसप्रकारको विशेषताले हाम्रो पार्टीलाई अरुपार्टी भन्दा फरक र विशिष्ट बनाउने काम गरेको छ । पछिल्ला समयमा हाम्रो पार्टीका नेता र कार्यकताबारे सार्वजनिक रुपमा टिकाटिप्पणीहरु सुनिने तर त्यसका बारेमा कुनै सुनुवाई नभइरहेको अवस्था देखिन्छ”, प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा यस्ता घटनामा पार्टीका तर्फबाट अनुसन्धानको प्रक्रिया अघि नबढाइदा इमान्दारहरु पीडित हुने र कमजोरी गर्नेले छुट पाउने स्थिति सिर्जना हुने अवस्था रहेको उल्लेख गर्दै अब त्यसप्रकारको अवस्था अन्त्य हुनुपर्नेमा जोड दिइएको छ ।

 

ताजा समाचार