८ पुष २०८१, सोमबार

आइतबार ५२ अंक बढ्दा चार महिनायताकै उच्च विन्दुमा नेप्से


धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार आठ दिनदेखि उकालो लागेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५२.२६ अंक बढेर २०९४.३३ विन्दुमा पुगेको हो । यो चार महिनायताकै उच्च विन्दु हो ।

गत फागुन २ गते २१०५ विन्दुमा बन्द भएको नेप्से परिसूचक त्यसपछिका कारोबार दिनहरूमा लगातार घटेर साढे १८०० विन्दुभन्दा तल झरेको थियो ।

आज गत साताको अन्तिम कारोबार दिन बिहीबारको तुलनामा सेयर कारोबार रकम पनि वृद्धि भएको छ । यसदिन चार अर्ब ८६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बिहीबार तीन अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

यसदिन कारोबारमा आएका १३ वटा समूहमध्ये वाणिज्य बैंक समूहको परिसूचक घटेको छ भने बाँकी समूहहरूको परिसूचक वृद्धि भएको छ । यो समूहको परिसूचक ०.२९ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा जीवन बिमा समूह रहेको छ । यो समूहको ६.३८ प्रतिशतले परिसूचक वृद्धि भएको छ । परिसूचक सर्वाधिक वृद्धि हुँदा यो समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

आज म्युचुअल फन्ड, ऋणपत्रलगायत २८० धितोपत्रको एक करोड २० लाख ९५ हजार ९६६ कित्ता खरिद–बिक्री भएको छ । यसदिन लगानीकर्ताको कुल सम्पत्ति (कुल बजारपुँजीकरण) ३० खर्ब ६३ अर्ब ३४ करोड रुपैयाँ कायम भएको छ ।

आज १४ वटा कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । शुभम् पावर लिमिटेडको सेयर मूल्य भने ५.५८ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७२७ रुपैयाँ कायम भएको छ ।

  • यसदिन शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ३६ करोड ६४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
ताजा समाचार