५ पुष २०८१, शुक्रबार

स्विस सरकारको सहयोगमा २०४० सालमा निर्माण भएको डेरी अहिले अवशेष मात्र, किन हेर्दै राज्य ? किन भयो बेहाल ?


काभ्रे। काभ्रे जिल्ला कृषि, पशुपालन र पर्यटनको हिसाबले जति अगाडि छ, त्यो भन्दा बढी दुग्ध उत्पादनको हिसाबले पनि आत्मनिर्भर जिल्लाको रूपमा स्थापित छ ।

नेपालमै पहिलो पटक २००९ सालमा काभ्रे जिल्लाको उग्रचण्डी नालाको टुसालमा पहिलो दूध डेरी स्थापना भएको थियो । नेपाल दुग्ध विकास संस्थानको स्वामित्वमा स्थापना भएको उक्त डेरीमा २ सय लिटर भन्दा बढी दुग्ध सङ्कलन हुने गर्दथ्यो । त्यहींबाट दूध प्रशोधन र दुधजन्य पदार्थ दही, मोही, घ्यु, खुवा लगायत उत्पादन गरी भक्तपुर हुँदै काठमाडौँको बजारसम्म लगिने गरिन्थ्यो ।

स्विस सरकारको सहयोगमा निर्माण भएको उक्त डेरी २०४० सालदेखि पूर्ण रूपमा बन्द रहेको नेपाल डेरी एशोसियशनका उपाध्यक्ष राजनप्रसाद दाहालले जानकारी दिए ।

अहिले अवशेष मात्र रहेको नेपालकै पहिलो डेरीको राष्ट्रिय विकास बोर्डका सदस्य एवं नेपाल डेरी एशोसियशनका अध्यक्ष सुमित कोडिया, बोर्ड सदस्य एवं महासचिव प्रल्हाद दाहाल, डेरी एशोसियशनका प्रथम उपाध्यक्ष राधाकृष्ण सापकोटा, तृतीय उपाध्यक्ष राजन दाहाल लगायतको टोलीले सोमबार उक्त भग्नावशेषको अवलोकन गर्दै त्यसको विकास र सञ्चालनमा भूमिका खेल्ने बताएका छन् ।

डेरीकै नाममा भवन र २ रोपनी जग्गा रहँदा पनि निरन्तर सञ्चालन हुन नसक्दा त्यो क्षेत्रका दुग्ध कृषक समेत मारमा परेका छन् । उक्त स्थानमा नेपाल डेरी एशोसियशनले डेरी टेक्निकल इन्ष्टिच्युटको स्थापना माग राखी राजन दाहालको संयोजकत्वमा ३ सदस्य समिति समेत गठन गरी आफ्नो कार्य समेत अगाडि बढाएको भए पनि सम्बन्धित पक्षको ध्यान पुग्न नसक्दा नेपालमै पहिलो डेरीको रूपमा रहेको त्यस क्षेत्र ओझेलिएको छ ।

ताजा समाचार